कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै
काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेला बोलाएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे भेला बोलाइएको हो । भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । केन्द्रीय समिति बैठक भोलि ९बिहीबार० बस्दैछ ।
भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।
कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचन अघि नै नियमित महाधिवेशन वा सो हुन नसके विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।
तर सभापति शेरबहादुर देउवा पक्षले भने निर्वाचन अघि महाधिवेशन सम्भव नहुने बताउँदै आएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गरिसकेका छन् ।
प्रकाशित मिति: १० मंसिर २०८२, बुधबार












