रास्वपा महाधिवेशनले चितवनमा ५० करोडभन्दा बढीको आर्थिक कारोबार



चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका कारण चितवन र आसपासका क्षेत्रमा ५० करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।

झण्डै एक सातासम्म देशभरबाट आएका महाधिवेशन प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुकको उपस्थितिले होटल, रेष्टुरेन्ट, यातायात तथा पर्यटकीय क्षेत्र चलायमान बनेका हुन्। असार ७ गते सुरु भएको महाधिवेशन शुक्रबार सम्पन्न हुँदैछ।

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमले महाधिवेशन अवधिमा ५० करोड रुपियाँभन्दा बढीको कारोबार भएको बताए। उनका अनुसार आवास व्यवस्थापनमै करिब २० करोड रुपियाँ खर्च भएको छ। महाधिवेशन उद्घाटनका बेला एकै दिन करिब २० हजार जना चितवनमा बसेका थिए।

गौतमका अनुसार प्रतिनिधिले आफ्नै खर्चमा आवासको व्यवस्था गरेका थिए भने पार्टीले चार दिनसम्म खानाको व्यवस्था गरेको थियो। पार्टीको मात्रै खाना व्यवस्थापनमा चार करोड रुपियाँभन्दा बढी खर्च भएको उनले बताए।

महाधिवेशनका कारण भरतपुरका होटल पूर्ण रूपमा भरिएका थिए भने सौराहा, पूर्वी चितवन र नवलपरासीको गैँडाकोटसम्मका होटलमा पनि प्रतिनिधि बसेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार महाधिवेशनका लागि बाहिरी जिल्लाबाट करिब दुई हजार २०० साना तथा ठूला सवारीसाधन चितवन आएका थिए।

उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको बताए। होटल तथा रेष्टुरेन्टसँगै दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूललगायत कृषि उत्पादनको खपतसमेत बढेको उनले बताए।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डेका अनुसार भरतपुरका होटलले सबैभन्दा बढी लाभ उठाएका छन् भने त्यसपछि सौराहालगायत पर्यटकीय क्षेत्रका होटलमा पनि व्यापार बढेको छ। पहिलो पटक चितवन पुगेका धेरै प्रतिनिधिले जिल्लाका पर्यटकीय गन्तव्यसमेत अवलोकन गर्ने अवसर पाएको उनले बताए।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्