रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न
काठमाडौँ, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
चितवनमा जारी महाधिवेशनअन्तर्गत शुक्रबार महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचन भएको थियो।
निर्वाचनबाट महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित भइन्। महामन्त्रीमा विपिन आचार्य, खुला सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल तथा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी भए।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।
महाधिवेशनको पहिलो चरणअन्तर्गत बिहीबार केन्द्रीय सदस्य पदका लागि निर्वाचन सम्पन्न भएको थियो।
रास्वपाको विधानअनुसार पहिलो चरणमा केन्द्रीय सदस्य र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ। दुवै चरणमा सबै महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए।
नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण पनि शुक्रबार नै सम्पन्न भएको पार्टीले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा सञ्चालन भएको थियो।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार












