भारतमा यात्रुबसमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु, अधिकांश नेपाली
एजेन्सी । नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सुनौलीबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको यात्रुबसमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । जसमध्ये दुई जना नेपाली रहेका छन् ।
बसमा ४५ जना यात्रु रहेकोमा धेरैजसो नेपालका रहेको जनाइएको छ ।
जसमध्ये २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बस भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर आगलागी भएको थियो । मृत्यु भएका तीन जना जिउँदै जलेका थिए ।
भारतीय सञ्चार माध्यमका अनुसार, ट्रकसँग ठोकिँदै बस १ सय मिटर परको हाई–टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो । त्यसपछि पोल भाँचिएर बसमा खसेको थियो । त्यसपछि भीषण आगलागी भएको थियो ।
दुर्घटनापछि चालक र कन्डक्टरको अवस्था अज्ञात छ ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार
















