यसवर्ष हिउँदमा वर्षा कम र तापक्रम बढी हुने
काठमाडौं, मंसिर १८ । यस वर्षको हिउँदमा देशका अधिकांश क्षेत्रमा वर्षा सामान्यभन्दा कम हुने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको मौसम आकलन सार्वजनिक गर्दै हिउँदभर वर्षा कम र तापक्रम भने सरदरभन्दा बढी रहने संकेत गरेको हो ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग तथा गण्डकी प्रदेशको उत्तर–पश्चिम क्षेत्रमा वर्षा ‘कम, सरदर वा बढी’ हुने समान सम्भावना छ । तर सुदूरपश्चिमका पूर्वी–दक्षिणी भूभागदेखि कर्णालीको दक्षिण, लुम्बिनीको पश्चिम, बाग्मतीको दक्षिण, मधेसको उत्तर र कोशीका मध्य तथा पूर्वी भूभागमा भने ५५–६५ प्रतिशत सम्भावनासहित वर्षा सरदरभन्दा कम हुने देखिएको छ ।
यस्तै गण्डकी, बाग्मती, मधेस र कोशीका अन्य केही भूभाग तथा लुम्बिनी र कर्णालीका मध्य–पूर्वी क्षेत्रमा ४५–५५ प्रतिशत सम्भावनासहित वर्षा कम हुने सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशीय भूभागमा वर्षा कम हुने सम्भावना ३५–४५ प्रतिशतको दायरामा छ ।
अधिकतम तापक्रमः अधिकांश क्षेत्रमा थप गर्मीको संकेत
हिउँदमा अधिकतम तापक्रम देशभर बढ्ने अनुमान गरिएको छ। गण्डकी प्रदेशका उत्तर र दक्षिण, बाग्मतीका दक्षिण तथा कोशी प्रदेशका उत्तर र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५–६५ प्रतिशत छ ।
यस्तै कर्णालीको उत्तर, लुम्बिनीको उत्तर तथा कोशी, बाग्मती र गण्डकीका बाँकी भूभागमा ४४–५५ प्रतिशत सम्भावनासहित तापक्रम बढी हुने देखिएको छ। सुदूरपश्चिम, कर्णालीका दक्षिण–पश्चिम र लुम्बिनीका पश्चिम क्षेत्रमा यो सम्भावना ३५–४५ प्रतिशतको दरले देखिएको विभागले जनाएको छ ।
लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशमा भने तापक्रम ‘कम, सरदर वा बढी’ हुने समान सम्भावना रहेको उल्लेख छ ।
न्यूनतम तापक्रमः देशभर गर्मी बढ्ने सम्भावना
विभागका अनुसार न्यूनतम तापक्रम पनि देशभर सामान्यभन्दा उच्च रहनेछ। सुदूरपश्चिमका उत्तर र दक्षिण–पश्चिम, कर्णालीका मध्य र उत्तर, लुम्बिनीका अधिकांश क्षेत्र, बाग्मतीका उत्तर–पूर्व र दक्षिण–पश्चिम, मधेसका धेरैजसो भूभाग तथा कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५–६५ प्रतिशत देखिएको छ।
देशका बाँकी भूभागमा न्यूनतम तापक्रम बढी हुने सम्भावना ३५–५५ प्रतिशत रहेको विभागले जनाएको छ । वर्षा न्यून र तापक्रम उच्च हुने प्रवृत्ति कृषि, जलस्रोत र वातावरणमा प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित पक्षका लागि सतर्कता आवश्यक हुने विभागको भनाइ छ ।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार












