इजरायलको आक्रमणमा हमासका वरिष्ठ कमाण्डर मारिएको दाबी



गाजा । इजरायलले हवाई हमलामा हमासका एकजना वरिष्ठ कमाण्डर मारिएको दाबी गरेको छ ।

इजरायली सेना र सुरक्षा निकाय शिन बेटले संयुक्त विज्ञप्ति जारी गर्दै हमासको सैन्य शाखा, अल–कसम ब्रिगेडका हतियार उत्पादन प्रमुख रायद सादलाई गाजा सहरमा ‘निष्क्रिय पारेको’ घोषणा गरेका छन् ।

सादलाई अल–कसमका सबैभन्दा प्रमुख कमाण्डरहरूमध्ये एक मानिन्थ्यो र उनले ७ अक्टोबरमा गाजा सहरको पूर्वमा रहेका इजरायली बस्तीहरूमा हमासको हमलाका क्रममा धेरै ब्रिगेडहरूको नेतृत्व गरेका थिए।

हमास–शासित नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलले बीबीसीलाई बताएअनुसार यस हमलामा चार जनाको मृत्यु भएको छ। उनले विस्फोटका कारण बाटोमा हिँडिरहेका अन्य थुप्रै मानिसहरू पनि घाइते भएको बताए ।

गाजाका एक स्थानीय हमास अधिकारीले बीबीसीलाई बताएअनुसार यस हमलामा सादका सहयोगी र अर्का तल्लो दर्जाका अधिकारी अबू इमाद अल–लाबान पनि मारिएका छन् ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्