मधेश प्रदेका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रदेश सभा पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने व्यवस्था मिलाई दिनका लागि आज प्रदेशसभा सचिवालयमा पत्र पठाउनु भएको छ ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनु पर्ने भएकाले प्रदेश सभा सचिवालयका सचिवलाई पत्र पठाएर ४ गते ४ बजेका लागि विश्वासको मत लिने व्यवस्था मिलाई दिनका लागि अनुरोध गर्नु भएको हो ।
सात दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत लिनका लागि ४ गतेको मिति यस अघि नै तय गरेका थिए । मधेश प्रदेश सभामा रहेका ७ दलको समर्थनमा गत मङ्सिर १९ गते मुख्यमन्त्री पदमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई मधेश प्रदेशका छैटौँ मुख्यमन्त्रीमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नियुक्त गर्नु भएपछि विश्वासको मत लिन लाग्नु भएको हो ।
मधेश प्रदेश सरकारमा नेपाली काँग्रेससँगै जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी तथा नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












