एमालेको ११औँ महाधिवेशनमा मतदान जारी, साँझ ५ बजेसम्म ८०२ जनाले गरे मतदान
काठमाडौँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा आज मतदान जारी छ ।
नेतृत्व चयनका लागि जारी मतदानको समय साँझ ८ः०० बजेसम्म थप गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
यसअघि साँझ ५ः०० बजेसम्मका लागि तोकिएको मतदान समयलाई संशोधन गरी समय थप गरिएको उहाँले बताउनुभयो । साँझ ५ बजेसम्म ८०२ जनाले मतदान गरिसक्नुभएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार साँझ ८ः०० बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरिसकेका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउनेछन् । मतदानमा सहभागी हुने प्रतिनिधिहरूको सहजताका लागि प्रतिनिधिहरूलाई टोकन प्रणालीमार्फत मतदान स्थलमा प्रवेश गराउने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।
एमालेमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्रतिस्पर्धामा हुनुहुन्छ ।
एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि करिव ६४२ जनाको उम्मेदवारी परेको छ । मतदानमा ८० वटा विद्युतीय भोटिङ् मेसिन प्रयोगमा ल्याइएको छ ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












