जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिने
काठमाडौं, पुस ३ । सरकारले जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको म्याद यही पुस ९ गते सकिन लागेपछि सरकारले थप एक महिना समयावधि थप्न लागेको हो ।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो आयोग गठन गरेको थियो । यस अवस्थामा आयोगको काम नसकिएको भन्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुधबार भेटेर म्याद थपका लागि आग्रह गरेका थिए ।
भेटका क्रममा आयोगले कार्यादेश थपिएको विषयमा कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए ।
जेन–जीसँग भएको सहमतिअनुसार सरकारले आन्दोलनका क्रममा भएको गैरन्यायिक हत्यालगायतका मानव अधिकार उल्लंघनसम्बन्धी आरोपहरूको बिना विभेद छानबिन गरी सत्य तथ्य खोज गरी फौजदारी जवाफदेहिता वहन गर्न सिफारिस गर्ने, हिंसात्मक कार्यहरूको विभेदलाई पूर्वाग्रहरहित रूपमा छुट्याई छानबिन गरी प्रतिवेदन पेस गर्नेलगायत कार्यादेश थप गरिएको थियो ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












