हनुमानढोका दरबार संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड



काठमाडौं, पुस १२
विश्व सम्पदा सूचिमा सुचिकृत ऐतिहासिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार संग्रहालयको १६ औं स्थापना दिवस मनाइएको छ । शनिवार काठमाडौंको वसन्तपुरमा सो संग्रहालयको स्थापना दिवस मनाइएको हो ।

स्थापना दिवसको अवसरमा २०७२ सालको भूकम्पले ध्वस्त बनाएका सबै संरचनाहरुको निर्माण कार्य करिव पूरा हुन लागेको जानकारी गराइएको छ ।

सो संग्रहालयका विकास समितिका अध्यक्ष समेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सो संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबैको सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो । उहाँले सो संग्रहालयलाई अझ सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिइएको पनि बताउनु भयो ।

सचिव निरौलाले भन्नुभयो,‘आगामी दिनमा सार्वजनिक–निजी साझेदारी,समुदायको सक्रिय सहभागिता र आधुनिक व्यवस्थापन प्रणालीमार्फत यस संग्रहालयलाई अझ, सक्षम, आकर्षक र शैक्षिक केन्द्रको रुपमा विकास गर्न सबैको सहयोगको आवश्यक्ता रहेको छ । संग्रहालयको दिगो संरक्षण र प्रवद्र्धनमा सबै पक्षको निरन्तर सहयोगको अपेक्षा राख्दछु ।’

कार्यक्रममा २०७२ सालको भूकम्प अघिको संग्रहालय र पुनर्निर्माणपछिको हालको संग्रहालय झल्काउने खालका फोटो प्रदर्शनी पनि गरिएको छ । सो प्रदर्शनी एक हप्तासम्म जारी रहने संग्रहालयका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्