जबरर्जस्ती करणी मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
सिरहा, पुस १३। जबरर्जस्ती करणी मुद्दामा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्लाको नवाजपुर गाउँपालिका–३ जगतपुरस्थित आँप बगैँचाका २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनीहरू एक युवतीलाई जबर्जस्ती करणी गरी फरार भएका थिए ।
सूचना अधिकारी पालले घटनापछि मानसिक तनावका कारण पीडितले चार महिनापछि गत वैशाख २ गते आफ्नै घर सल्काई आत्महत्या गरेको जानकारी दिए । उनका अनुसार घटनालाई गम्भीरतापूर्वक लिँदै प्रहरीले फरार प्रतिवादीको खोजतलास तीव्र बनाएको थियो ।
प्रहरी टोलीले उनीहरूलाई नेपाल–भारत सीमा नजिक नवाजपुर गाउँपालिका–३ झाँपडिबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपाटारमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार












