असार तेस्रो सातादेखि सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गर्दै सरकार
काठमाडौं । सरकारले असारको तेस्रो साताबाट सुकुम्बासी तथा भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने तयारी गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो ।
असार तेस्रो सातादेखि बर्दियामा र त्यसपछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा वितरण गर्ने तयारी छ ।
मन्त्रालय स्रोतका अनुसार हालसम्म २ लाख बढी सुकुम्बासीको लगत संकलन भइसकेको छ । प्रमाणित भएका प्रत्येक सुकुम्वासी परिवारलाई चार आना जग्गा वितरण गरिने छ । उनीहरुलाई सम्बन्धित जिल्लाकै सरकारी जग्गा दिइनेछ ।
सरकारले गत जेठ १९ गते उच्च अदालतका पूर्वन्यायाधीश बलभद्र बाँस्तोलाको नेतृत्वमा समिति गठन गरेको गरेको थियो । हाल उक्त समितिले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेको छ ।
यसअघिको भूमि आयोगको तथ्यांकअनुसार देशभर १२ लाख ९ हजार ५८५ सुकुम्वासी छन् ।
तर, बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाएका छन् ।
जसलाई लिएर भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी पनि गरेकी थिइन् ।
हाल सरकारले नयाँ समिति गठन गरेसँगै भूमि आयोग खारेज भइसकेको छ ।
प्रकाशित मिति: १० असार २०८३, बुधबार












