आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, पुस १४ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहेको छ ।
महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
देशका तराई भू–भागमा हुस्सु र कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार












