एनआरएन अमेरिकाले भन्यो- मन्त्री गुप्तालाई अमेरिकामा कुनै कार्यक्रममा बोलाइएको छैन
काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रमका लागि अमेरिका नबोलाएको जनाएको छ ।
मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको समाचार सार्वजनिक भइरहेका बेला परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै अमेरिकामा युवासम्बन्धी कुनै पनि कार्यक्रम आयोजना नगरिएको र मन्त्री गुप्तालाई नबोलाइएको स्पष्ट पारेको हो ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन भन्ने कुरा स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौँ । साथै, परिषद्को तर्फबाट अमेरिकामा कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन ।’
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












