रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा



चितवन, ७ असार । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा भए पनि दुश्मनी नरहेको बताएका छन्।

चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले रास्वपाले हासिल गरेको उचाइप्रति आफूलाई लोभ लागेको बताए।

“नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुस्मन होइन। हामी स्वच्छ प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौँ,” उनले भने, “तपाईँहरूको उचाइ देखेर लोभ लागेको छ। तर तपाईँहरूलाई सानो बनाएर होइन।”

सभापति थापाले नेपालमा विगतमा विभिन्न राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे पनि त्यसको सही व्यवस्थापन गर्न नसक्दा जनमत दुर्घटनामा परेको बताए।

“करिब तीन–चार पटक नेपालका राजनीतिक दलहरूले ठूलो जनमत प्राप्त गरे। तर हरेक पटक त्यो जनमत दुर्घटनामा पर्‍यो। जुन राजनीतिक दलले त्यो जनमत प्राप्त गर्‍यो, त्यस दलका नेताहरूबीच अहङ्कार र व्यक्तिवादी टकराव भयो, जसका कारण दुर्घटना भयो,” उनले बताए।

उनले जनमत प्राप्त गरेपछि दलभित्र नेतृत्वको अहङ्कार, व्यक्तिवादी प्रवृत्ति र आन्तरिक द्वन्द्व बढ्दा राजनीतिक दलहरू कमजोर बन्ने गरेको उल्लेख गरे।

सभापति थापाले राजनीतिक दलभित्र स्वस्थ आलोचना र आत्मसमीक्षाको संस्कृतिको आवश्यकता औँल्याउँदै आफ्नै नेतृत्वलाई पनि आवश्यक पर्दा प्रश्न गर्न सक्ने साहस हुनुपर्ने बताए।

“गल्ती गरेको बेला आफ्ना नेताहरूलाई पनि प्रश्न गर्नुहोला। हामीले ढिला गर्‍यौँ, सजाय पनि पायौँ,” उनले बताए।

नेपाली कांग्रेसले आफ्ना कमजोरीहरू समयमै स्वीकार गर्न नसकेको उल्लेख गर्दै उनले त्यसबाट अन्य दलहरूले शिक्षा लिनुपर्ने धारणा राखे। गल्ती हुँदा आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कृतिले मात्रै राजनीतिक दललाई लोकतान्त्रिक र उत्तरदायी बनाउन सक्ने उनको भनाइ थियो।

सभापति थापाले रास्वपाका नेता तथा कार्यकर्तालाई नेतृत्वप्रति अन्ध समर्थन नगरी आवश्यक पर्दा प्रश्न उठाउन र आलोचनात्मक चेत कायम राख्न आग्रह गरे।

प्रकाशित मिति: ७ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्