सूर्य नेपाल इस्टर्न ओपन सुरू
धरान । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।
निरजले टंक बहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तीमा ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३–अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्।
१–अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे।
यस्तै इभन–पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।
धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरूवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे।
यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३–अन्डर ३३ खेले। यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक–एक सट बचाए। १५औं होलमा बोगी खेप्दै ब्याक नाइन ३–अन्डर ३१ मा सकाए।
टंकले भने फ्रन्ट नाइन १–अन्डर ३५ मा पुरा गर्ने क्रममा दोस्रो होलमा एक सेट खेर फाले। आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे। यसपछि १४औं र १८औं होलमा एक–एक सट बचाएका उनले ब्याक नाइन बोगीरहित २–अन्डर ३२ खेले।
धरानका भेट्रान प्रो बलभद्रले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले २–अन्डर ३४ को नतिजा निकाले। १०औं होलमा बोगी प्रहार गर्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए।
एमेच्योरतर्फ राहुल र प्रकृत १–अन्डर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। राम तामाङ १ओभर ७१ सहित तेस्रो स्थानमा रहे।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार
















