आज महाशिवरात्रि पर्व, पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं, फागुन ३ । आज महाशिवरात्रि पर्व । फाल्गुन कृष्ण चतुर्दशीका अवसरमा मनाइने यो पर्व हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।
मध्यरातमा चतुर्दशी तिथि परेकै दिन भगवान् शिवको पूजा, आराधना र व्रत बस्ने धार्मिक परम्परा अनुसार आज देशभरका शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ ।
यसदिन सबैभन्दा बढी भीड पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । छिमेकी देश भारतबाट समेत हजारौँ भक्तजन यहाँ आएका छन् ।
आज दिउँसो १६ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि सोमबार दिउँसो १७ः३५ बजेसम्म छ ।
धार्मिक मान्यताअनुसार यस दिन व्रत, उपवास, रातभर जाग्राम र शिवजीलाई दूध, बेलपत्र, धतुरो अर्पण गरे सुख–शान्ति र मोक्ष प्राप्त हुने विश्वास छ।
महाशिवरात्रिका अवसरमा बिहान २ बजेदेखिनै पशुपतिका चारै ढोका खोलिएको छ । दर्शनार्थीको सुविधाका लागि तीन बाहिरी र भित्री लाइनको व्यवस्था गरिएको छ ।
पशुपतिनाथसँगै गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर लगायत उपत्यकाका शिवालयमा पनि भक्तजनको उल्लेख्य भीड लागेको छ । राजधानी बाहिरका विभिन्न शिव मन्दिरहरूमा समेत धूमधामका साथ पूजाआराधना भइरहेको छ ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार












