आज सेना दिवस : टुँडिखेलमा विशेष समारोह



काठमाडौं । नेपाली सेनाले महाशिवरात्रि एवं २६३औं सेना दिवस आज विविध कार्यक्रम गरी मनाउँदैछ ।

यस अवसरमा सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा बढाइँ कवाजसहितको विशेष समारोह आयोजना गरेको छ ।

सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा मुलुकभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आआफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।

समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस–२०८२ लेखिएको ब्यानर प्रदर्शनी साथै पुष्पवृष्टि गरिनेछ ।

राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागिता तथा विपद् व्यवस्थापनसम्बन्धी विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन हुनेछ । आकर्षक सैनिक कला फ्रि–फल जम्प र खुकुरी ड्रिल पनि प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्