ब्राउन सुगरसहित चार जना पक्राउ



काठमाडौँ, फागुन ४ । रौतहटको चन्द्रनिगाहपुरबाट अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

खानतलासीका क्रममा सुरुमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो ।

सोही क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्न प्रयोग गरिने प्लास्टिकका टुक्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि पक्राउ गरेको छ । उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्