महाकाली सन्धिबारे देवराज घिमिरेको स्पष्टीकरण- कुनै पनि अन्तर्राष्ट्रिय सन्धिमा मैले हस्ताक्षर गरेको छैन



काठमाडौं । पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिसँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा भ्रम सिर्जना गरिएको भन्दै स्पष्टीकरण दिएका छन्।

महाकाली सन्धिबारे धेरैमा भ्रम रहेको भन्दै पूर्व सभामुख घिमिरेले आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘धेरैमा भ्रम पनि देखियो,’ महाकाली सन्धिबारे म स्पष्ट छु । जो प्रश्न सोधिरहनुभएको छ, मैले जवाफ पनि दिइरहेको छु । जसले घृणाको राजनीति गर्न खोजिरहनुभएको छ, उहाँहरुलाई कम्तीमा सन्धिबारे अध्ययन र विश्लेषण गर्न अनुरोध गर्दछु। मैले नियोजित हो भन्ने थाहा पाएपछि जवाफ नदिएको हो । अहिले त्यो भिडियो अमुक दलको प्रचार सामग्री बनेछ । म स्पष्ट पार्न चाहन्छु– कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन ।

उनले महाकाली सन्धिका विषयमा उठाइएका जिज्ञासाहरूको उत्तर दिँदै आएको उल्लेख गर्दै तथ्यपरक अध्ययन नगरी आरोप लगाउनु उपयुक्त नहुने बताए।

घिमिरेका अनुसार केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनाउने उद्देश्यसहित खिचिएको भिडियो सन्दर्भबाहिर प्रयोग गरिएको छ। आफूले नियोजित रूपमा सामग्री तयार गरिएको थाहा पाएपछि प्रतिक्रिया नदिएको तर अहिले सोही भिडियो एक राजनीतिक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको दाबी उनले गरेका छन्।

सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पदमा नरहेको उल्लेख गर्दै लोकतान्त्रिक दलभित्र नीतिगत विषयमा हुने छलफलका क्रममा आफ्नो धारणा व्यक्त गर्नुबाहेक अन्य कुनै औपचारिक भूमिका नरहेको बताएका छन्।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्य रहेको व्यक्तिले छिमेकी राष्ट्रसँग सन्धि गर्ने अधिकार राख्छ भन्ने जस्तो प्रचार हुनु तथ्यविहीन रहेको उनको टिप्पणी छ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्