पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन १६ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसले गर्दा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी हिमाली र पहाडी भेगमा आंशिक बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको मौसम भने मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशसहित देशका बाँकी हिमाली भू–भागमा साधारणतया र अन्य पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बाँकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का हिमपात हुन सक्नेछ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने ती प्रदेशका पहाडीसहित बाँकी हिमाली भेगमा आंशिक बादल लाग्नेछ ।

देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्