चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन र निर्वाचन बिथोल्ने गतिविधि नगर्न प्रशासनको आग्रह
रुपन्देही । सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहने गरी आ–आफ्नो धर्म परम्परा अनुसार चाडपर्व मनाउन तथा निर्वाचन विरोधी गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आग्रह गरेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै प्रशासनले हिन्दु धर्मावलम्बीहरूको होली तथा मुस्लिम धर्मावलम्बीहरूको रमजान पर्वका अवसरमा कुनै पनि प्रकारका सामाजिक सद्भाव भड्किने गतिविधि हुन नदिन विशेष सतर्कता अपनाएको जनाएको छ ।
यसै सन्दर्भमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले सामाजिक सद्भाव भड्काएर निर्वाचन बिथोल्ने प्रयास हुन सक्ने भन्दै त्यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको जानकारी दिनुभयो । उहाँले चाडपर्वको अवसर पारेर धार्मिक सहिष्णुता खल्बल्याउने र मतदातामा त्रास फैलाउने तत्त्व सक्रिय हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सामाजिक सद्भाव बिग्रिन नदिन मदिराको बिक्री वितरणमा लगाइएको प्रतिबन्ध कडाइका साथ कार्यान्वयन गरिनेछ । सीमाक्षेत्रमा निगरानी बढाइएको छ भने सुरक्षा जाँच प्रक्रियालाई थप व्यापक बनाइएको छ । आन्तरिक सुरक्षा योजना लागू गरी निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रशासन प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका की निमित्त नगरप्रमुख कल्पना हरिजनले निर्वाचनको मुखमा लुम्बिनी क्षेत्रमा केही अराजक तत्वले हिन्दु–मुस्लिम समुदायबीच धार्मिक विवाद गराउने प्रयास भइरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले केही उम्मेदवारहरूबाट समेत धार्मिक सहिष्णुता भड्काउने र मतदातालाई त्रसित पार्ने खालका अभिव्यक्ति आएको उल्लेख गर्नुभयो ।
“धार्मिक विवाद गराउन खोजिएको छ । केही उम्मेदवारले धार्मिक सहिष्णुता भड्काउने र मतदातालाई डर–त्रास देखाउने अभिव्यक्ति दिनुभएको छ,” उहाँले भन्नुभयो, “मतदातालाई धम्क्याउने र प्रशासनिक कर्मचारीलाई समेत दबाब दिने प्रयास भएको छ ।” यस्ता गतिविधिमाथि निगरानी बढाई सुरक्षा व्यवस्था कडा पार्न उहाँले माग गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले लुम्बिनी क्षेत्रको अवस्थालाई प्रशासनले सूक्ष्म ढंगले अनुगमन गरिरहेको बताउनुभयो । शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न आवश्यकता अनुसार कडा कदम चाल्न प्रशासन पछि नहट्ने उहाँको भनाइ छ । प्रशासनले सबै समुदायलाई संयमता अपनाउन, आपसी सम्मान कायम राख्न र लोकतान्त्रिक प्रक्रियालाई सहयोग पुर्याउन आह्वान गरेको छ ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार











