कैलाश–मानसरोवरमा पहिलो पटक अन्तर्राष्ट्रिय योग दिवस मनाइने
काठमाडौँ, १ असार । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवर क्षेत्रमा पहिलो पटक सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ।
समाजले सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष योगी आचार्य राजन शर्माले नेपालबाट विश्वमा शान्ति, ध्यान र प्रेमको सन्देश प्रवाह गर्ने उद्देश्यसहित कैलाश–मानसरोवरमा योग अभ्यास कार्यक्रम गर्न लागिएको बताए।
उनका अनुसार योग दिवसका अवसरमा सहभागी टोली असार ३ गते त्यसतर्फ प्रस्थान गर्नेछ भने असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक योग र ध्यान कार्यक्रम आयोजना गरिनेछ।
अध्यक्ष शर्माले नेपाललाई योग गुरुको देशका रूपमा स्थापित गर्दै यसको प्राचीन योग, ध्यान, तपस्या र आध्यात्मिक परम्परालाई विश्वसामु परिचित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा नेपाल, भारतसहित विभिन्न देशका योगी, ध्यान साधक, योग शिक्षक, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियन्तासहित एक सयभन्दा बढी सहभागी हुने जनाइएको छ।
समाजका शाखा तथा साधना केन्द्र नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा रहेका छन्। आयोजकका अनुसार उक्त कार्यक्रमले नेपालको आध्यात्मिक पहिचान, योग पर्यटन, सांस्कृतिक कूटनीति तथा अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १ असार २०८३, सोमबार











