तीन सातासम्म पासपोर्ट वितरण बन्द हुन सक्ने



काठमाडौं । राहदानी विभागले राहदानी (पासपोर्ट) वितरण केही साता बन्द हुनसक्ने जनाएको छ ।

पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा सेवा अवरुद्ध हुनसक्ने भन्दै विभागले सूचनामार्फत् बन्द हुनसक्ने जानकारी गराएको हो ।

जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म बन्द हुने सूचनामा उल्लेख छ ।

राहदानी विभागबाट प्रदान गरिने सेवा भने एक हप्तासम्म अवरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।

नयाँ प्रणाली जडान एवं कार्यान्वयन भएपछि प्रणाली स्थिरीकरण हुन एकदेखि तीन महिनासम्म लाग्ने विभागको भनाइ छ ।

उक्त अन्तरिम अवधिमा जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन अहिलेको भन्दा बढी समय लाग्ने बताइएको छ ।

आगामी ६ महिनासम्म राहदानी आवश्यक पर्ने सेवाग्राहीले अन्तरिम अवस्था सुरू हुनुअघि नै सम्बन्धित निकायबाट सेवा लिन आग्रह गरिएको छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्