एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
काठमाडौँ २९ फागुन । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १ सय ५० भन्दा धेरै विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्रीहरु उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।
बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रुपमा विशेष क्षमता भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । साथै, विगतका वर्षहरुमा पनि यस बैंकले सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नुका साथै सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गरिसकेको छ ।
शान्ति सेवा गृह, काठमाडौंमा रहेका यी विद्यार्थीहरुलाई गरिएको शैक्षिक सामग्री सहयोगले उहाँहरुको शैक्षिक गुणस्तर बढ्नुको साथै आफ्नो अध्ययनलाई निरन्तरता दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार
















