काठमाडौंमा क्रिप्टो र हुण्डी कारोबार गिरोह पक्राउ, ३० लाख नगद बरामद
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रलाई केन्द्र बनाएर अवैध क्रिप्टो करेन्सी र हुण्डी कारोबार गर्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाको आधारमा आइतबार साँझ चार जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट ३० लाख रुपैयाँ नगद र कारोबारमा प्रयोग हुने विद्युतीय उपकरण बरामद गरिएको छ ।
पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी, ठमेल बस्ने ३२ वर्षीय रबिन जि।आर र इमाडोलका ३७ वर्षीय अनित्य शाक्य रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले क्रिप्टो करेन्सीको खरिदबिक्री र हुण्डीमार्फत ठूलो रकम ओसारपसार गर्दै आएका थिए।
बरामद सामग्रीमा ३० लाख रुपैयाँ नगद, विभिन्न कम्पनीका ६ थान मोबाइल र १ थान एप्पल कम्पनीको म्याकबुक रहेको छ।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४को दफा १२५ (क) अनुसार हुण्डी कारोबार र दफा १६२ (क) अनुसार अभौतिक मुद्रा प्रयोगको कसुर अन्तर्गत मुद्दा चलाइने तयारी गरिएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार
















