कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष



काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।

मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए । घटनास्थल नजिकै रहेका एक जना युवकले आगो लागेको देखेपछि दौडिँदै गएर कारको अगाडि पट्टिको ढोका खोलेको सिसिटिभी फुटेजमा देखिएको छ । चालक सिटसँगैको ढोका खोल्दा उनको समेत हातमा पोलेपछि उनी फर्किएको फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र कीर्तिपुर वृत्तले गरेको अनुसन्धानबाट सुरेशचन्द्र आफैँले आत्मदाह गरेको खुलेको हो । काठमाडौँका एसएसपी दिलिप घिमिरेले कार चालक श्रेष्ठ आफैँले आगो लगाएर आत्मदाह गरेको अनुसन्धानको निष्कर्ष रहेको बताए । उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट घटनामा अरूको संलग्नता देखिएको छैन ।’

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
घटनास्थलमा पुगेका प्रहरीले आगो निभाउने प्रविधिको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा भेटिएका थिए । ७० वर्षीय श्रेष्ठ औषधी व्यवसायी हुन् ।

कोरोना संक्रमण शुरु भएपछि औषधीको व्यापारमा घाटा भएसँगै उनी ऋणमा डुबेका थिए । आर्थिक रूपमा कमजोर भएपछि उनी तनावमा रहेको पारिवारिक स्रोतको भनाई छ । पछिल्लो समय सुरेशचन्द्र आर्थिक रूपमा कमजोर भएको र तनावको कारण उनले कारभित्रै आगो सल्काएर आत्मदाह गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

बुधबार त्रिवि शिक्षण अस्पतालमा उनको शव पोस्टमार्टम गरिँदै छ । उनले चलाएको कार २०६२ कार्तिक २७ मा नबिल बैंकबाट ऋण लिएर खरिद गरेको भेटिएको छ । यातायात व्यवस्था विभागको रेकर्ड अनुसार कार सुरेशचन्द्र र रजनी श्रेष्ठको रहेको भेटिएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार