सुनसरीबाट नक्कली परीक्षार्थी पक्राउ
सुनसरी। जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिनगर-६ का २० वर्षीया नुसरत खातुन रहेकी छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी खातुनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खातुनले आफ्नै भाउजू सलमा अजहरको नाममा जारी गरिएको प्रवेश पत्र लिएर पहिलो दिनदेखि नै लगातार परीक्षा दिइरहेको थिइन् ।
पहिलो दिनदेखि नै लगातार परीक्षा दिँदै आएको भए पनि आज नियन्त्रणमा लिएको हो ।
भोक्राहा-२ स्थित जामिया इस्लामिया मदरसामा कक्षा १० मा अध्ययनरत सलमा हाल कतारमा रहेको छन् ।
नक्कली परीक्षार्थी बनेर परीक्षा दिनु शिक्षा ऐनविपरीत भएकाले सोहीअनुसार खातुनलाई कारबाही हुने प्रहरीले जनाएको छ ।
यसअघि पनि हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रबाट विराज विक नामक परीक्षार्थीलाई अंकित श्रेष्ठ बनेर परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २४ चैत्र २०८२, मंगलबार
















