रास्वपा सांसद साहको क्यासिनोबाट जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सञ्चालन गरेको क्यासिनोबाट कानून विपरित जुवा खेलिरहेका ६ जना नेपाली पक्राउ परेका छन् ।
प्रहरीले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सञ्चालित सीएमजी क्लव क्यासिनोबाट प्रहरीले जुवा खेलिरहेका ४ र खेलाउने २ जना गरी ६ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो ।
कानूनतः क्यासिनोमा नेपाली प्रवेश गर्न, जुवा खेल्न र खेलाउन पाईंदैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट डीएसपीको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राति क्यासिनोको चेकजाँचका क्रममा उक्त क्यासिनोमा जुवा खेलाउने र खेल्ने समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त सीएमजी क्लव क्यासिनो रास्वपा सांसद नरेन्द्र साह कलवारको हो । सर्लाही ३ बाट निर्वाचित सांसद कलवारका यी सहित ४ वटा क्यासिनो सञ्चालित छन् ।
प्रहरीले जुवा खेलाउने उक्त क्यासिनोका कर्मचारी सर्लाही बरहथवा ८ बस्ने बर्ष ३१ का मुकेशकुमार श्रेष्ठ र ललितपुर गोदावरी नगरपालिका–१५ बस्ने बर्ष ४१ का अजय केसीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जुवा खेल्ने रुपन्देही बुटवल उपमहानगरपालिका–१२ बस्ने बर्ष ३५ का गोबिन्द शर्मा, वडा नं ९ बस्ने बर्ष ३५ का बासुदेव गौतम, बर्ष ३५ का कृष्ण गौतम, वडा नंं ११ बस्ने बर्ष ३६ का चन्द्रप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
बुधबार राति ८ बजे उक्त क्यासिनोबाट उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णबहादुर चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जुवा खेल्ने नेपालीको साथबाट प्रहरीले ७ गड्डी तासका साथै २ लाख १७ हजार ३ सय ९० रुपैयाँ नेपाली रुपैयाँ र ३ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले क्यासीनोमा प्रयोग हुने १ लाख २५ हजार (आईसी) का क्वाइन र ६ वटा मोवाईल सेट बरामद गरेको छ ।
साहको सेन्ट्रल मिडिया प्रालिले अदालतको अन्तरिम आदेशका भरमा क्यासिनो सिएमजी र त्यसमातहत चार ठाउँमा क्यासिनो सञ्चालन गर्दै आएको छ ।
नेपाली नागरिकलाई समेत सहज रुपमा प्रवेश गर्न दिंदै आएको सेन्ट्रल मिडियाले दसौं करोड राजस्व छली गरेकोबारेमा पनि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।
साहले २०७१ साउन १५ गतेको अन्तरिम आदेशबाट होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो सञ्चालन गर्दैआएका छन् ।
क्यासिनो नियमावली अनुसार दर्ता गरी सञ्चालन गर्नुपर्ने क्यासिनोहरु उनले अदालतमा रिट हाली अन्तरिम आदेशका आधारमा सञ्चालन गर्दैआएका छन् । जसका कारण देशले पाउनुपर्ने बार्षिक करोडौं राजस्व गुमिरहेको छ ।
साह यसअघि माओवादीबाट सांसद बनेका थिए । तर, अहिले उनी रास्वपा प्रवेश गरेका हुन् ।
प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार
















