नेतान्याहूविरुद्ध टर्कीको अदालतमा मुद्दा, ४६ सय वर्षसम्मको जेल सजाय माग
काठमाडौं ३० चैत। टर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसहित ३५ जनाविरुद्ध गम्भीर फौजदारी मुद्दा दर्ता गरेको छ । प्यालिस्टिनको गाजाका लागि हिँडेको राहत मिसनमाथि भएको आक्रमणलाई लिएर दर्ता गरिएको यस मुद्दामा अभियुक्तहरूलाई हजारौँ वर्षको जेल सजाय माग गरिएको छ ।
इस्तानबुलको मुख्य सरकारी वकिलको कार्यालयले दायर गरेको आरोपपत्रमा इजरायली नेतृत्वमाथि मानवताविरुद्धको अपराध र अन्तर्राष्ट्रिय कानुन उल्लंघनको गम्भीर आरोप लगाइएको छ ।
सबै ३५ अभियुक्तका लागि जन्मकैदका साथै एक हजार १०२ वर्षदेखि चार हजार ५९६ वर्षसम्म थप जेल सजायको माग गरिएको छ ।
मानवताविरुद्धको अपराध, नरसंहार, गैरकानुनी हिरासत, यातना र लुटपाट जस्ता गम्भीर अभियोगहरू लगाइएका छन् ।
यो मामिला गत वर्ष सेप्टेम्बरमा भएको एक घटनासँग जोडिएको छ । ‘सुमुद फ्लोटिला’ नामको राहत मिसन खाद्यान्न, औषधि र अन्य अत्यावश्यक सामग्री लिएर गाजातर्फ जाँदै थियो । यो फ्लोटिला अन्तर्राष्ट्रिय समुद्रमा रहेका बेला इजरायली नौसेनाले यसलाई रोकेको थियो ।
इजरायली सैनिकहरू जहाजमा चढेर त्यहाँ रहेका अधिकारकर्मीहरूलाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको आरोप टर्कीको छ ।
टर्की सरकारका अनुसार, यो कारबाही पूर्ण रूपमा अन्तर्राष्ट्रिय कानुनविरुद्ध थियो । अन्तर्राष्ट्रिय जलक्षेत्रमा मानवीय सहायता सामग्री बोकेका जहाजहरूमाथि सैन्य हस्तक्षेप गर्नुलाई टर्कीले गम्भीर अपराध मानेको छ ।
यो मुद्दाले पहिले नै तनावपूर्ण रहेको इजरायल र टर्कीबीचको कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउने निश्चित देखिएको बताइएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















