२५ लाख सेयर लुकाएको होइन, अनुसन्धानमा सघाउँछु: गृहमन्त्री गुरूङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेको आरोपबारे छानबिनका लागि सघाउन तयार रहेको बताएका छन् ।

हालै विभिन्न विवादित व्यक्तिहरुसँग साझेदारी रही ‘२५ लाख रुपैयाँको सेयर खरिद गरेर लुकाइएको’ भन्ने आरोप तथ्यहीन भएको भन्दै सोमबार सामाजिक सञ्जालमार्फत उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

‘म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु । सहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्म हामीलाई जिम्मेवार बनाउँछ, हल्लामा होइन, प्रमाणमा उभिन,’ गृहमन्त्री गुरुङले लेखेका छन् ।

सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका बिचौलिया दिपक भट्ट र शंकर ग्रुपका शुलभ अग्रवाल लगायतसँग गृहमन्त्रीको साँठगाँठ र उनीहरुको लगानी रहेको कम्पनीको शेयर केही दिनअघि मात्रै गृहमन्त्री गुरुङले खरिद गरेको तथ्य बाहिरिएसँगै चौतर्फी आलोचना भइरहेका बखत गृहमन्त्री गुरुङले आफूले अनुसन्धानलाई सघाउन तयार रहेको बताए ।

विवादित व्यक्ति भनिएका दीपक भट्टसँग साझेदारीको आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुने भएकाले सेयर किन्नु साझेदारी गर्नु नभएको स्पष्ट पारे।

उनले थप लेखेका छन्- ‘यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ।’

‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग रहेको उल्लेख गर्दै प्रक्रिया अघि बढिरहेको बताए।

साथै उनले आफूले किनेको भनिएका शेयर सबै बैंकिङ च्यानलबाट गरेको र त्यसो रकमको स्रोत ऋण रहेको समेत खुलाएका छन् ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्