खड्का पूर्णबहादुर भन्छन् – बालेन्द्र सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु अधिनायकवादी प्रवृत्ति
काठमाडौं । सरकारको विवादास्पद निर्णयविरुद्ध नेपाली कांग्रेसका वरिष्ठ नेता पूर्णबहादुर खड्का कडा रूपमा प्रस्तुत भएका छन् ।
विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने कदमप्रति उनले तीव्र आपत्ति जनाउँदै यसलाई “अधिनायकवादी प्रवृत्ति” को संज्ञा दिएका छन्।
मंगलबार जारी विज्ञप्तिमा खड्काले सरकारको निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत भएको स्पष्ट पार्दै यसले देशको राजनीतिक प्रणालीमै नकारात्मक सन्देश दिने बताएका छन्।
उनले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको भूमिका स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा विद्यार्थीहरूको योगदान निर्णायक रहेको उल्लेख गरे।
खड्काका अनुसार निर्दलीय पञ्चायती व्यवस्थाका बेला राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा पनि विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाउने महत्वपूर्ण जिम्मेवारी निभाएका थिए।
उनले विसं २०३६र३७ को विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको अग्रणी भूमिका बिना वर्तमान व्यवस्था सम्भव नहुने जिकिर गरे।
त्यसैगरी, उनले अहिलेको सरकारको निर्णयलाई विरोधाभासपूर्ण भन्दै लोकतान्त्रिक प्रक्रियाबाट उदाएका युवा नेतृत्व बालेन्द्र शाह जस्ता पात्र स्थापित हुने वातावरण बन्नु सकारात्मक भए पनि विद्यार्थी संगठनमाथि प्रहार गर्नु अस्वीकार्य रहेको बताए।
खड्काले विद्यार्थी संगठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संरचना नभई शैक्षिक क्षेत्रका विकृति–विसंगतिविरुद्ध आवाज उठाउने वैधानिक मञ्चको रूपमा चित्रण गरेका छन्।
अन्त्यमा उनले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै चेतावनी दिए—यदि निर्णय सच्याइएन भने लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्नेछन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार
















