महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं, १० वैशाख । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिमा योग्यता नपुगेको भन्दै दायर गरिएका रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज प्रारम्भिक सुनुवाइ भएपछि उक्त आदेश दिइएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार वैशाख १७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ।
अधिवक्ता शिवराज बराल, माधव बस्नेत र दीपकराज जोशीलगायतले बुधबार छुट्टाछुट्टै तीन रिट निवेदन दायर गरेका थिए। निवेदनमा डा. कँडेललाई महान्यायाधिवक्ता जस्तो जिम्मेवार पदमा नियुक्त गर्न संविधानले तोकेको योग्यता नपुगेको उल्लेख छ।
संविधानअनुसार महान्यायाधिवक्ता पदमा नियुक्त हुन कम्तीमा १५ वर्ष निरन्तर कानुन व्यवसायमा संलग्न रहेको हुनुपर्छ, तर डा. कँडेलसँग सो अनुभव नरहेको निवेदकहरूको दाबी छ। प्रधानमन्त्री वालेन्द्र शाहले गत चैत २२ गते उनलाई उक्त पदमा नियुक्त गर्नुभएको थियो।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















