वैशाख १७ को संसद् अधिवेशन स्थगित
काठमाडौं, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुवै सदनको अधिवेशन हाललाई स्थगित गर्नुभएको छ।
यसअघि मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसमा वैशाख १७ गतेका लागि दुवै सदनको बैठक आह्वान गरिएको थियो। तर आज मन्त्रिपरिषद्ले विशेष कारण देखाउँदै सो अधिवेशन स्थगित गर्न सिफारिस गरेपछि राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम उक्त निर्णय गर्नुभएको हो।
यस सम्बन्धमा राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आधिकारिक विज्ञप्ति जारी गर्नुभएको छ। अधिवेशन कहिले बस्ने भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी दिइएको छैन।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















