सुकुम्वासी बस्ती भत्काइँदै गएको घटनाप्रति हर्क साम्पाङको आपत्ति



काठमाडौं, ११ वैशाख। हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्वासी बस्ती भत्काइँदै गएको घटनाप्रति आपत्ति जनाएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

विज्ञप्तिमा सरकारले संविधानको धारा ३७(१) विपरीत गरिब तथा सुकुम्वासी नागरिकको बासस्थान भत्काइरहेको आरोप लगाइएको छ । साथै, धारा १६(१) मा उल्लेखित मौलिक अधिकारसमेत उल्लंघन भएको उल्लेख गर्दै जनतालाई डर, धम्की र बल प्रयोगमार्फत विस्थापित गर्ने कार्यलाई ‘राज्य आतंक’को संज्ञा दिइएको छ ।

साम्पाङले दशौँ वर्षदेखि बसोबास गर्दै आएका बस्तीमा राज्यले समयमै व्यवस्थापन नगर्दा समस्या जटिल बनेको बताएका छन् । त्यस्ता स्थानमा बसोबास गर्ने नागरिकले जीवनभरको कमाइ लगानी गरेर घर बनाएको उल्लेख गर्दै उनले उचित क्षतिपूर्ति र पुनर्बासको व्यवस्था नगरी बस्ती हटाउनु अन्यायपूर्ण हुने बताएका छन् ।

उनले सरकारलाई सुकुम्वासीलाई बेघर बनाउने नीति त्यागेर व्यवस्थित पुनर्बास र क्षतिपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन् । ‘जनतालाई बेघर बनाएर न सुशासन हुन्छ न विकास’, विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्