संसद अधिवेशनबारे कांग्रेस महामन्त्रीको प्रश्न–सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद अधिवेशन आह्वान भएको २४ घण्टा नबित्दै स्थगित गरिनुले गम्भीर प्रश्न उब्जाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले आह्वान गरेकै भोलिपल्ट संसद अधिवेशन स्थगनले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको बताए ।
उनले ‘सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर ? भन्दै प्रश्न गरेका छन् ।
लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्ने भन्दै उनले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भएको टिप्पणी गरेका छन् ।
पौडेलले भनेका छन्–‘जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु ।’

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार
















