प्रविधि न्यायको साधन हो, विकल्प होइन: कायममुकायम प्रधानन्यायाधीश मल्ल




काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताएकी छिन्।
युवा कानुन व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिइन्। काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राखिन् । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानुनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने बताइन् ।


उनले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताइन् । प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उनको भनाइ थियो । विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह (बायस), गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उनले बताइन् ।


युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिइन् ।
नयाँ पुस्ताका कानुन व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुसी व्यक्त गर्दै उनले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताइन् । छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने उनको विश्वास छ । उहाँले ढिलो न्याय हुने जनगुनासोलाई सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई नै सुदृढ बनाउने उल्लेख गरिन् ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्