इन्जिनियरिङ शिक्षाप्रति आकर्षण बढाउन ठोस कार्ययोजना बनाउन शिक्षामन्त्रीको निर्देशन



काठमाडौँ, ८ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन तथा अध्ययनपछि स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न ठोस कार्ययोजना बनाएर अघि बढ्न सरोकारवालालाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) तथा इन्जिनियरिङ कलेजहरूको छाता संस्था (एकोन) का प्रतिनिधिसँग भएको छलफलमा मन्त्री पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए।

उनले परीक्षा प्रणाली सुधारदेखि आवश्यक नीतिगत व्यवस्थापनसम्मका विषयमा मन्त्रालय पूर्ण रूपमा सकारात्मक रहेको उल्लेख गर्दै इन्जिनियरिङ शिक्षालाई समयानुकूल, प्रभावकारी र रोजगारमुखी बनाउनुपर्ने बताए।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले शैक्षिक गुणस्तर सुधार गर्दै इन्जिनियरिङ अध्ययनलाई व्यवस्थित र प्रभावकारी बनाउन कलेजहरूले पहल गर्नुपर्ने बताए।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले इन्जिनियरिङ शिक्षामा विद्यार्थी आकर्षण बढाउन प्रभावकारी शैक्षिक कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए।

उच्च शिक्षा महाशाखाका प्रमुख तथा सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को मापदण्डअनुसार गुणस्तर कायम राख्दै इन्जिनियरिङ कलेजहरूमा विद्यार्थी संख्या बढाउनुपर्ने बताए। सरकारले इन्जिनियरिङ शिक्षाको गुणस्तर सुधार र पहुँच विस्तारका लागि काम गरिरहेको पनि उनले उल्लेख गरे।

एकोन त्रिवि विभागका संयोजक धनप्रसाद पौडेलले इन्जिनियरिङ शिक्षामा विद्यार्थीको आकर्षण बढाउन तथा प्रवेश परीक्षाको उत्तीर्णदर सुधार गर्न आइओइले विशेष पहल गर्नुपर्ने सुझाव दिए।

छलफलमा आइओइका डिन प्रा. डा. सुशीलबहादुर बज्राचार्य, विभिन्न इन्जिनियरिङ कलेजका प्रिन्सिपल, सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Provide your feedback on BizChat

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार