रुस र युक्रेनबीच दुई दिने युद्धविराम घोषणा
एजेन्सी । रुसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा रुसले युक्रेनसंग दुई दिन युद्ध विराम गर्ने घोषणा गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक विज्ञप्ति जारी गर्दै विश्व युद्धमा सोभियत जनताको विजयको उत्सवको सम्मानका लागि सन् २०२६ मे ८-९ मा युद्ध विराम गर्ने घोषणा गरेका हुन् ।
उक्त घोषणा दोस्रो विश्वयुद्धमा सोभियत जनताको विजयको स्मृतिमा मनाइने विजय दिवसको अवसरमा सम्मानस्वरूप गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
रुसमा मे -९ मा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउने लाखौँ मानिसहरूको सम्झनामा विजय दिवस मनाउने गरिन्छ ।
रूसले युक्रेनी पक्षले पनि यो उदाहरण पछ्याउने अपेक्षा व्यक्त गरेको छ ।
साथै विज्ञप्तिमा युक्रेनको किएभ प्रशासनले विजय दिवस समारोहलाई अवरोध गर्ने उद्देश्यले कुनै पनि आक्रमणात्मक गतिविधि गरेमा रूसी सेनाले किएभको केन्द्रमा प्रत्याक्रमण गर्ने चेतावनीसमेत दिइएको छ ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले मे ५ देखि ६ को मध्यरातदेखि छुट्टै युद्ध विराम सुरु गर्ने घोषणागरेका छन् । यो समय अवधिमा मौन र शान्ति सुरक्षाको सुनिश्चित भएको अवस्था रहने उनले बताएका छन्।
‘भूभाग नियन्त्रण’को विषयमा रुस र युक्रेनबीच विगत चार वर्षदेखि युद्ध भइरहेको छ । युद्धका कारण अहिलेसम्म दसौँ हजार मानिसको मृत्यु भइसकेको छ भने पूर्वी तथा दक्षिणी युक्रेनका ठूला भूभागहरू ध्वस्त भएसकेका छन्।
प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार
















