प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
वाशिङटन डीसी । अमेरिकाको एक संघीय अदालतले करिब ११० अर्ब डलर मूल्यको प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरीबिच प्रस्तावित विलय सम्झौतामा अस्थायी रोक लगाएको छ ।
यो निर्णय क्यालिफोर्निया र न्युयोर्कसहित १२ अमेरिकी राज्यले दायर गरेको मुद्दापछि आएको हो । ती राज्यहरूले उक्त विलयले प्रतिस्पर्धा घटाउने र उपभोक्तामाथि आर्थिक भार बढाउने भन्दै सम्झौता रोक्न माग गरेका थिए ।
राज्यहरूको तर्फबाट मुद्दा लडिरहेका सरकारी वकिलहरूले दुई ठुला चलचित्र स्टुडियो एक भएपछि चलचित्र हल, केबल टेलिभिजन वितरक तथा अन्ततः देशभरका दर्शकलाई ठुलो नोक्सानी पुग्ने तर्क गरेका छन् । यता दुवै कम्पनीले भने राज्यहरूले बजारको वास्तविक अवस्थालाई गलत रूपमा बुझेको दाबी गर्दै विलयबाट स्ट्रिमिङ सेवा अझ प्रभावकारी हुने बताएका छन् ।
संघीय जिल्ला अदालतकी न्यायाधीश अरासेली मार्टिनेज–ओल्गुइनले सोमबार १४ दिनका लागि अस्थायी रोक आदेश जारी गरेकी हुन् । यस अवधिमा कुनै पनि कम्पनीले विलय प्रक्रिया अन्तिम रूप दिन वा दुवै कम्पनीको व्यवसायलाई एकीकृत गर्न पाउने छैन । न्यायाधीशले राज्यहरूको गठबन्धनले चलचित्र वितरण क्षेत्रमा यस विलयको असरबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेकी छन् ।
अहिले नै विलय हुन दिएमा पछि अदालतले सम्झौता रोक्ने निर्णय गरे त्यसलाई उल्ट्याउन अत्यन्त कठिन हुने चेतावनी उनले दिइन् । प्रतिस्पर्धा संरक्षणसम्बन्धी कानुन कार्यान्वयनमा रहेको सार्वजनिक हित विलयमा हुने केही समयको ढिलाइभन्दा बढी महत्त्वपूर्ण रहेको पनि उनले बताइन् । उनका अनुसार कानुनी प्रक्रिया जारी रहँदासम्म प्यारामाउन्ट स्काइडान्स र वार्नर ब्रदर्स डिस्कभरी छुट्टाछुट्टै कम्पनीका रूपमा सञ्चालन हुनेछन् र बजारमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहनेछन् ।
विलय भयो भने के हुन्छ ?
यो सम्झौता स्वीकृत भयो भने हलिउडका एक शताब्दीभन्दा लामो प्रतिस्पर्धामा रहेका दुई ठुला चलचित्र कम्पनी एउटै संस्थामा गाभिनेछन् । यी कम्पनीहरूको स्वामित्वमा ह्यारी पोटर, ब्याटम्यान, मिसनः इम्पसिबल र टप गन जस्ता चर्चित चलचित्र श्रृंखला रहेका छन् । साथै सिएनएन, एमटिभी र निकेलोडियनजस्ता प्रमुख टेलिभिजन च्यानलहरू पनि यिनकै स्वामित्वमा छन् । विश्लेषणअनुसार यो विलय सम्पन्न भए नयाँ कम्पनीले प्रमुख हलिउड चलचित्र प्रदर्शनको एक चौथाइभन्दा बढी हिस्सा नियन्त्रण गर्नेछ ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







