बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण



नयाँ दिल्ली । युक्रेनको ओडेसा बन्दरगाह नजिकै आइतबार भएको रुसी क्षेप्यास्त्र प्रहारमा परी मारिएका चार जना नाविकमध्ये एक जना केरलाका २६ वर्षीय अखिल जोयन रहेका छन्।

तीन महिनाअघि मात्रै इन्गेजमेन्ट गरेका उनी दुई महिनापछि विवाह बन्धनमा बाँधिने तयारीमा थिए।

कासरगोड जिल्लाको भेल्लारिक्कुन्डुका बासिन्दा अखिल गिनी बिसाउको झण्डा बोकेको व्यापारिक जहाजमा कार्यरत थिए। १० जनाको ज्यान जाने गरी भएको सो रुसी आक्रमणमा अखिल र अन्य चार नाविकको मृत्यु भएको हो।

रुस-युक्रेन द्वन्द्वमा भारतीय नाविकहरू हताहत भएको यो पहिलो घटना हो। अर्का एक भारतीय नागरिक गम्भीर घाइते भई अस्पताल भर्ना भएका छन्।

वडा सदस्य शोबी जोसेफले दिएको जानकारी अनुसार अखिलका बुबाले विद्युतीय पसल चलाउँछन् भने आमा बीमा एजेन्ट छिन्। हालै मात्र नयाँ घर बनाएको यो परिवार पूर्ण रूपमा आफ्ना एक्ला छोरामाथि निर्भर थियो।

१९ वर्षको उमेरमा मर्चेन्ट नेवीमा प्रवेश गरेका अखिल एक महिनाअघि मात्रै काममा फर्किएका थिए। कम्पनीले सोमबार बेलुका इमेलमार्फत अखिलको निधनको खबर पठाएको थियो।

शव स्वदेश ल्याउनका लागि उनका आमाबुबाले स्थानीय सांसद र विधायकसँग सम्पर्क गरेका छन्। केरलाका मुख्यमन्त्रीको कार्यालयले अखिलको मृत्युबारे थप जानकारी लिन र शव ल्याउने प्रक्रिया मिलाउन रुसी महावाणिज्य दूतावास र विदेश मन्त्रालयसँग समन्वय गर्न गैर-आवासीय केरला मामिला विभागलाई निर्देशन दिएको छ।

घटनाको भोलिपल्ट भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणको भर्त्सना गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले युक्रेनस्थित भारतीय नियोगले स्थितिलाई नजिकबाट नियालिरहेको र प्रभावितहरूलाई सम्भव भएसम्मको सहयोग गरिरहेको बताएका छन्।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारत यस्ता आक्रमणहरूको भर्त्सना गर्दछ र व्यापारिक जहाजहरूलाई निशाना बनाउने तथा निर्दोष नागरिक चालक दलका सदस्यहरूलाई जोखिममा पार्ने कार्य निन्दनीय छ।’ यस्ता कार्यहरूबाट बचिनुपर्ने मन्त्रालयले जनाएको छ।

घटना लगत्तै भारतले मंगलबार रुसी कार्यवाहक राजदूतलाई बोलाएर ध्यानाकर्षण गराएको छ। एमभी गोल्डेन लियो नामको उक्त जहाज ओडेसा बन्दरगाहबाट निस्कने क्रममा रुसी क्षेप्यास्त्रको निशानामा परेको थियो। एलएसईजीको तथ्याङ्क अनुसार यो जहाज मुम्बईस्थित ओसन ग्रेस शिपिङ लिमिटेडले सञ्चालन गर्दै आएको थियो।

ओडेसा बन्दरगाहमा सोमबार भएको अर्को रुसी आक्रमणमा पनि तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार