होर्मुजमा फसेका जहाज निकाल्ने ‘प्रोजेक्ट फ्रिडम’ स्थगित
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायी रूपमा स्थगित गरिएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै इरानसँगको सम्झौतालाई अन्तिम रूप दिन यो मिसन छोटो अवधिका लागि रोकिएको जानकारी दिएका छन् । ट्रम्पले लेखेका छन्, “सोमबारदेखि सुरु भएको ‘प्रोजेक्ट फ्रिडम’ आपसी सहमतिमा रोकिएको छ, किनकि इरानसँगको सम्झौतामा ठूलो प्रगति भएको छ ।”
ट्रम्पले होर्मुज जलमार्ग क्षेत्रमा फसेका वा रोकिएका जहाजहरूलाई अमेरिकी सेनाको सुरक्षामा बाहिर निकाल्ने उद्देश्यसहित ‘प्रोजेक्ट फ्रिडम’ योजना सोमबार घोषणा गरेका थिए ।
तर, इरानी सरकारी सञ्चारमाध्यमहरूले भने यो स्थगनलाई विश्वव्यापी ढुवानीका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयासमा अमेरिकाको निरन्तर असफलतापछि ट्रम्प पछि हट्न बाध्य भएको संकेतका रूपमा व्याख्या गरेका छन् ।
मिसन रोकिए पनि ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी भने जारी रहने स्पष्ट पारेका छन् ।
अमेरिकी राष्ट्रपतिको यो घोषणा विदेशमन्त्री मार्को रुबियोले इरानविरुद्ध गरिएको प्रारम्भिक अमेरिकी–इजरायली सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ले आफ्नो उद्देश्य पूरा गरिसकेको बताएपछि आएको बीबीसीले जनाएको छ ।
रुबियोले मंगलबार पत्रकारहरूसँग भने, “हामी शान्तिको मार्गलाई प्राथमिकता दिन्छौँ । राष्ट्रपतिले सम्झौता चाहनुभएको छ ।”
प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार
















