तमिलनाडुका भावी मुख्यमन्त्री विजयसँग ६ अर्ब बढि सम्पत्ति



काठमाडौं। तमिलनाडुमा तमिलगा वेत्री कझगम (टीवीके) को नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ। साउथ सुपरस्टार विजय थलापतिको पार्टी टीवीकेले विधानसभा चुनावमा २ सय ३४ सिटमध्ये १ सय ८ सिट जितेको छ।

सरकार बनाउन १ सय १८ सिट आवश्यक पर्छ। विजय राजनीतिमा नयाँ अनुहार भएपनि दक्षिण भारतीय फिल्मका परिचित अभिनेता हुन्।

मार्च २०२६ मा दर्ता गरिएको चुनावी प्रतिवेदन अनुसार विजयको कुल सम्पत्ति करिब ६२४ करोड रहेको छ जसमा चल सम्पत्ति ४०४ करोड र अचल सम्पत्ति २२० करोड रहेको बताइएको छ।

विलासी कारदेखि चेन्नईका महँगा सम्पत्तिसम्म उनको जीवनशैलीले तमिल सिनेमामा उनको दशकौँको प्रभुत्व झल्काउँछ ।

तीन दशकभन्दा लामो सफल फिल्म करियरसँगै उनले ब्रान्ड विज्ञापन र घरजग्गा लगानीबाट पनि उल्लेख्य आम्दानी गरेका छन्।

विजयका चल सम्पत्ति करिब ४०४.५८ करोड छन्। जसअन्तर्गत नगद २ लाख, विभिन्न बैंक खातामा जम्मा विशेषगरी भारतीय ओभरसिज बैंकमा २१३ करोडभन्दा बढी रकम रहेको छ।

उनको एक्सिस बैंक, एचडीएफसी बैंक र भारतीय स्टेट बैंकमा करोडौँको फिक्स्ड डिपोजिट तथा कम्पनीमा लगानी र परिवारका सदस्यलाई दिएको ऋण समावेश छन्।

विजयसँग करोडौँ मूल्यका उच्चस्तरीय गाडीहरूको संग्रह छ। जसमध्ये बीएमडब्ल्यू ५३०, लेक्सस आरएक्स ३५०,टोयोटा वेलफायर, बीएमडब्ल्यू आई७, रेन्ज रोभर इभोक, अडि ए८ एल, फोर्ड मस्टाङ लगायत अन्य प्रिमियम मोडेलहरूका कलेक्शन रहेका छन्।

विजयका अचल सम्पत्ति करिब २२० करोड मूल्यका छन्। जसमा कोडाइकनालमा कृषि जमिन, चेन्नईका प्रमुख स्थानहरू— नीलाङ्करै, सालिग्रामम, पोरुर, मायलापुर र एग्मोरमा आवासीय तथा व्यावसायिक सम्पत्तिहरू, नीलाङ्करैको कासुरिना ड्राइभमा रहेको समुद्रकिनारको विलासी बंगला, जसको मूल्य करिब ७०–८० करोड बताइन्छ।

विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका सामग्री छन्, जसको मूल्य १.२० करोडभन्दा बढी छ। उनले कुनै ऋण वा बैंक बक्यौता नभएको उल्लेख गरेका छन्। आर्थिक वर्ष २०२४–२५ मा उनले १८४.५३ करोड आम्दानी गरेको विवरण दिएका छन्।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्