बीवाईडी सवारी आयात कानुनअनुसार भएको दाबी, आरोप निराधार रहेको साइमेक्सको स्पष्टिकरण



काठमाडौँ, २२ जेठ । बीवाईडी विद्युतीय सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले हालै आयात गरिएका बीवाईडी सवारीसाधन सम्बन्धमा सार्वजनिक रूपमा उठाइएका प्रश्न तथा आरोपहरूबारे तथ्यगत स्पष्टिकरण दिएको छ ।

कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका विद्युतीय सवारीसाधनहरू प्रचलित कानुन, भन्सार नियमावली तथा निर्धारित प्रक्रियाअनुसार आयात गरिएको जनाएको हो ।

साइमेक्सका अनुसार कोरला र रसुवा नाकामार्फत कुल एक हजार १२१ वटा बीवाईडी सवारीसाधन नेपाल भित्रिएका र भन्सार जाँचपास सम्पन्न भएका छन् । साथै, थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगेका भए पनि हालसम्म भन्सार जाँचपास प्रक्रिया पूरा भएको छैन ।

कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ । साथै, सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोप पूर्ण रूपमा निराधार, असत्य तथा कम्पनीको प्रतिष्ठामा आघात पुर्‍याउने उद्देश्यका रहेको जनाएको छ ।

साइमेक्सले ग्राहकबाट पहिले नै सुनिश्चित भएका बुकिङ पूरा गर्न तथा नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न नियमित व्यावसायिक योजना, उत्पादन तालिका, ढुवानी उपलब्धता तथा मौज्दात व्यवस्थापनका आधारमा सवारी आयात गरिएको स्पष्ट पारेको छ ।

कम्पनीले आवश्यक परे कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आयात अभिलेख, भन्सार घोषणा विवरण, ढुवानी कागजात, भुक्तानी विवरण तथा जाँचपाससम्बन्धी सम्पूर्ण दस्तावेज सम्बन्धित निकायलाई उपलब्ध गराउन तयार रहेको जनाएको छ ।

सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आधिकारिक अभिलेख र सम्बन्धित निकायबाट तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गर्दै कम्पनीले तथ्यहीन सामग्रीले वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायको प्रतिष्ठामा क्षति पुग्न सक्ने जनाएको छ ।

साइमेक्सले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य, इन्धन आयात न्यूनीकरण तथा दिगो यातायात प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै तथ्यमा आधारित समाचार सम्प्रेषण र जिम्मेवार सार्वजनिक बहस आवश्यक रहेको जनाएको छ ।

कम्पनीले विगतदेखि नेपालको अटोमोटिभ तथा स्वच्छ ऊर्जा रूपान्तरणमा विश्वासिलो साझेदारका रूपमा काम गर्दै आएको उल्लेख गर्दै इमान्दारिता, पारदर्शिता, कानुनको पालना र जवाफदेहिताप्रति आफ्नो प्रतिबद्धता निरन्तर रहने जनाएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्