यामाहाले ७१औँ वार्षिकोत्सव राष्ट्रव्यापी सामुदायिक उत्सवका रूपमा मनायो
काठमाडौँ, १८ असार । यामाहा मोटर कम्पनीले आफ्नो ७१औँ वार्षिकोत्सवका अवसरमा नेपालभर विविध कार्यक्रम आयोजना गर्दै ‘यामाहा डे’ मनाएको छ।
हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’का रूपमा मनाउँदै आएको कम्पनीले यस वर्ष सातै प्रदेशमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
उत्सवको सुरुवात देशभरका यामाहा शोरुम, डिलरशिप तथा कम्पनीद्वारा सञ्चालित आउटलेटमा एकसाथ उद्घाटन तथा केक काटेर गरिएको थियो। कम्पनीले २० वर्षदेखि निरन्तर सेवा दिएका कर्मचारीलाई सम्मान गरेको थियो। नेपालभरका १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए भने यामाहा मोटर इन्डियाले पनि डिजिटल रूपमा सहभागिता जनाएको थियो।
वार्षिकोत्सवका अवसरमा कम्पनीले देशभरका सेवा केन्द्रमा लेबर चार्जमा २५ प्रतिशत छुट दिएको थियो। ‘७ प्रदेश, ७ ग्राहक’ अभियानअन्तर्गत प्रत्येक प्रदेशबाट एक–एक जना ग्राहकलाई सर्भिस चार्जमा शतप्रतिशत क्यासब्याक प्रदान गरिएको थियो। जुलाई १ मा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष वार्षिकोत्सव चकलेट पनि वितरण गरिएको कम्पनीले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी, पोखरा, नक्साल, गट्ठाघर, भरतपुर, बर्दिबास र इटहरीमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। सात शोरुममार्फत सञ्चालन गरिएको अभियानबाट करिब ३५० युनिट रगत सङ्कलन भएको कम्पनीले जनाएको छ। विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको थियो।
यामाहा पर्साले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। साथै, १६ देखि ४० वर्षसम्म यामाहा मोटरसाइकल प्रयोग गरेका पुराना ग्राहक, एकदेखि दुई लाख किलोमिटर यात्रा पूरा गरेका राइडर, प्रि–ओन्ड सवारी व्यवसायी तथा लामो समयदेखि कार्यरत मेकानिकलाई सम्मान गरिएको थियो।
एमएडब्लू राइड्स प्रालिका प्रबन्ध निर्देशक तथा अध्यक्ष विष्णु अग्रवालले यामाहा नेपालभर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ४०० परिवारको रोजगारीसँग जोडिएको बताए। उनले सात दशकभन्दा लामो यात्रामा डिलरहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ट्राफिक सचेतना, रक्तदान, वृक्षारोपण र परोपकारी कार्यक्रममार्फत समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाइएको बताए।
कार्यक्रमअन्तर्गत यामाहाले काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनमा सहयोग गर्दै सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेको थियो। कम्पनीको ‘ब्लू स्ट्रिक्स’ राइडिङ समुदायले बूढानीलकण्ठस्थित माउन्टेन चिल्ड्रेन्स होममा परोपकारी राइडको आयोजना गरेको थियो।
यामाहाका नेपालस्थित ब्रान्ड एम्बेसडर अनुप विक्रम शाहीले वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरेका थिए। यामाहा मोटर कम्पनीका ग्लोबल चेयरम्यान तथा जापानका प्रतिनिधिले पनि कम्पनीको ७१ वर्षको उपलब्धिको प्रशंसा गर्दै शुभकामना दिएका थिए।
एमएडब्लू ग्रुपअन्तर्गत सञ्चालित यामाहा नेपालले अत्याधुनिक जापानी प्रविधि, विश्वसनीयता र ग्राहकमैत्री सेवामार्फत दुईपाङ्ग्रे सवारी बजारमा आफ्नो नेतृत्वदायी भूमिका कायम राख्दै आएको जनाएको छ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












