सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई–विटारा का सबै भेरियन्टको मूल्य घट्यो



काठमाडौँ २६ जेठ । नेपालमा सुजुकी अटोमोबाइल्सको आधिकारिक वितरक सीजी मोटोकर्प प्रा. लि.ले सरकारले इलेक्ट्रिक सवारी साधन (EV) मा गरेको कर तथा भन्सार संरचना परिवर्तनपछि सुजुकी ई–विटाराका सबै भेरियन्टमा मूल्य घटाएको घोषणा गरेको छ।

कम्पनीले आजदेखि लागू हुने गरी प्रत्येक भेरियन्टमा रु. १ लाखसम्म मूल्य कटौती गरिएको जनाएको छ। कम्पनीका अनुसार सरकारले EV मा गरेको कर समायोजनको पूर्ण लाभ ग्राहकलाई हस्तान्तरण गरिएको हो।

सीजी मोटोकर्पले सुजुकी ई–विटारा चार भेरियन्टमा उपलब्ध गराउँदै आएको छ। संशोधित मूल्य अनुसार भेरियन्टअनुसार फरक–फरक मूल्य निर्धारण गरिएको छ। कम्पनीले यो मूल्य समायोजनलाई अस्थायी छुट नभई कर संरचना परिवर्तनअनुसार गरिएको स्थायी समायोजन भएको स्पष्ट पारेको छ।

कम्पनीले प्रारम्भिक अफर अन्तर्गत सीमित अवधिका लागि पहिलो १०० बुकिङमा विशेष सुविधा समेत उपलब्ध हुने जनाएको छ।

कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले सरकारको नीतिले इलेक्ट्रिक सवारी साधनलाई अझ पहुँचयोग्य बनाएको भन्दै त्यसको लाभ ग्राहकसम्म पूर्ण रूपमा पुर्‍याउनु कम्पनीको दायित्व भएको बताए।

उनका अनुसार नेपालमा इलेक्ट्रिक सवारी साधनको बजार तीव्र रूपमा विस्तार भइरहेको र सुजुकी ई–विटारा सो सेग्मेन्टमा प्रमुख मोडलमध्ये एक बनेको छ।

कम्पनीले देशभर २५ भन्दा बढी बिक्री केन्द्र र ४० भन्दा बढी सर्भिस नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्