ट्राफिक व्यवस्थापनमा सहकार्य गर्ने नाडा र उपत्यका ट्राफिक प्रहरीको सहमति



काठमाडौँ, १ असार । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सहकार्य गर्ने भएका छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरेको हो।

छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य आवश्यक रहेको बताए।

उनले पहाडी क्षेत्रमा सञ्चालनका लागि उपयुक्त ठूला सिसीका मोटरसाइकलसमेत काठमाडौँमा चलिरहेको उल्लेख गर्दै मोटरसाइकलको तुलनामा स्कुटरमा दुर्घटना कम हुने गरेको तथ्य प्रस्तुत गरे। साथै, राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक बत्ती व्यवस्थापनका लागि पहल गर्न नाडालाई आग्रह गरे।

काफ्लेले सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टरका कर्मचारी तथा पहिलो पटक सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको आधारभूत ट्राफिक प्रशिक्षण दिने व्यवस्था गर्नुपर्ने धारणा राखे। यसबाट ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने विश्वास उनले व्यक्त गरे।

नाडाका अध्यक्ष उप्रेतीले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि हुँदै आएको सहकार्यबारे चर्चा गर्दै आगामी ५०औँ वार्षिक साधारणसभा तथा स्वर्ण जयन्तीका अवसरमा असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा आयोजना हुने सप्ताहव्यापी कार्यक्रम सफल बनाउन आवश्यक सहयोगका लागि आग्रह गरे।

उनले नाडाले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत विशेष अभियान सञ्चालन गर्ने जानकारी पनि दिए।

छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिन संस्था प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवालले पनि आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्