एन आई सी एशिया बैंकद्वारा विद्यालय र सामाजिक संस्थामा सहयोग सामग्री हस्तान्तरण



काठमाडौँ, २२ जेठ एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न सामाजिक संस्था तथा विद्यालयहरूलाई सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

बैंकले झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित “हाम्रो साझा घर” का लागि फर्निचर सहयोग प्रदान गरेको छ । हाल उक्त संस्थामा ४४ भन्दा बढी असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई आवास र खानपानको सुविधा प्रदान गरिँदै आएको छ ।

त्यसैगरी, बैंकले बारा जिल्लाको निजगढस्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र झापाको मेचिनगरस्थित श्री अरनिको माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

वीरगञ्जमा आयोजित कार्यक्रममा बैंकका सर्कल हेड गोपाल प्रसाद सुवेदीले श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर हस्तान्तरण गर्नुभयो ।

यस्तै, बिर्तामोडमा आयोजित अर्को कार्यक्रममा बैंकका केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र सर्कल हेड डेन राज सुब्बाले श्री अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गर्नुभयो ।

विद्यालयका तथ्यांकअनुसार सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

बैंकका अनुसार प्रदान गरिएको सहयोगले सामाजिक संस्थामा आश्रित व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने तथा सामुदायिक विद्यालयमा डिजिटल सिकाइ प्रविधि सुदृढ गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्