सङ्गठन सुदृढीकरणका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन गर्ने
काठमाडौँ २६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको सङ्गठन सुदृढीकरण र भावी कार्यदिशा तय गर्न देशव्यापी रूपमा सुझाव सङ्कलन गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित निर्वाचन समीक्षा तथा पुनःगठन कार्यदलको बैठकले देशव्यापी सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्य ले बताए।
उनका अनुसार पार्टी संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउन प्रदेशदेखि केन्द्र तहसम्म सुझाव सङ्कलन तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ। राजधानीसहित आठ प्रदेश कमिटी, जनसङ्गठन, सम्पर्क समन्वय कमिटी, विभाग प्रमुख तथा विभिन्न निकायका पदाधिकारीसँग सङ्गठन सुदृढीकरण र पार्टीको भावी कार्यदिशासम्बन्धी सुझाव सङ्कलन गरिने भएको छ।
प्रदेशस्तरीय भेलामा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला तहका पदाधिकारीहरूको सहभागिता रहनेछ। कार्यक्रमको समन्वय सम्बन्धित प्रदेश इन्चार्जले गर्ने निर्णय गरिएको छ।
बैठकले कार्यदलको सदस्य–सचिवको जिम्मेवारी शङ्कर पोखरेल लाई दिने निर्णय गरेको आचार्यले बताए।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली सहित विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल लगायतका नेताहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















