गस्तीबाट फर्किने क्रममा कुलोमा लडेर प्रहरी जवानको मृत्यु
दार्चुला । दार्चुलामा रातिको गस्ती सकेर प्रहरी चौकी फर्किने क्रममा कुलोमा चिप्लिएर लडेका एक प्रहरी जवानको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–५ स्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत प्रहरी जवान खेमराज भट्ट मंगलबार राति करिब १० बजे गस्तीबाट फर्किने क्रममा पानीघट्ट नजिकको कुलोमा चिप्लिएर लडेका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका भट्टलाई सहकर्मी प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएका थिए । तर उपचारकै क्रममा बुधबार राति २ः१० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार प्रहरी जवान भट्ट नियमित गस्तीको जिम्मेवारी पूरा गरेर चौकी फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
अन्दाजी २५ वर्षीय भट्ट बैतडी जिल्लाका स्थायी बासिन्दा रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















